थोलेदेम्बा अब गल्फ खेलसहितको पर्यटन गन्तव्य



काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बा अब गल्फखेलसहितको पर्यटन गन्तव्य हुने भएको छ । काठमाण्डौमा मंगलबार आयोजित एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरिएसँग थोलेदेम्बा गल्फ खेलसहितको पर्यटन गन्तव्य हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरिएको हो । उक्त अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ खेल सर्भेक्षण सफल भएको वृत्तचित्र सार्वजनिक गरिएको थियो । खिजीदेम्बा गाउँपालिकाले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालसँगको समन्वयमा वृत्तचित्र सार्वजनिक गरिएको बताइएको छ ।

मन्त्री किरातीले पोकली झरना (१३०मि.) हुँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान, गौरीवन, दोबाटेभन्ज्याङ, खिजीचण्डेश्वरी, खिजीफलाटे, चुप्लुभञ्ज्याङ, थोलेदेम्बा (३ हजार ३५० मिटरसम्म) तीन दिनको पदमार्ग र थोलेदेम्बा हुँदै पिके, दूधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्ग घोषणा गरे ।

मन्त्री किरातीले थोलेदेम्बा जस्ता ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै देशको आर्थिक हैसियत उठाउन नीतिगत र बजेट व्यवस्थापन गरेर अघि बढ्ने बताए । उनले खिजीचण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न पहल गरिने समेत बताए ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले खिजीदेम्बालाई पर्यटन, कृषि लगायत क्षेत्रबाट अघि बढाउन गाउँपालिका नीतिगत रुपमै अघि बढेको र गाउँपालिकाले पहिचान गरेको नयाँ गन्तव्यको प्रवद्र्धनमा प्रदेश र संघले बजेट विनियोजन गरेर तदारुकता देखाउनुपर्ने बताए ।

खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा संघीय सांसद रामहरि खतिवडा, पूर्व संघीय सांसद यज्ञराज सुनुवारलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।