सूर्यविनायक नगरप्रमुख थापा कोरोनामुक्त, काममा छिटै फर्कने उद्घोष



भक्तपुर । सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा कोरोनामुक्त भएका छन् । नगरपालिकाको काममा सधैं खटिने गरेका थापालाई करिब १ महिनाअघि कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यमा समस्या देखिएको थापालाई मेडिसिटि अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । उनलाई कोरोना संक्रमणका बेला श्वासप्रश्वासमा गम्भीर असर देखिएको थियो । उनले न्यूमोनिया पनि देखिएको पनि अहिले पूर्णस्वास्थ्य भएको बताएका छन् ।

अस्पतालमा स्वास्थ्य सुधार आएपछि घरमा नै बसेर आराम गरिरहेका उनलाई २ पटक सम्म पीसीआर रिपोर्ट जाँच गर्दा पोजेटिभ देखिएको थापाले बताए ।

थापाले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त सबैप्रति आभार व्यक्त गर्दै आफू अब नगरपालिकाको काममा छिटै फर्कने पनि बताए । 

उनले अहिले आफ्नो स्वास्थ्य राम्रो भएको र कोरोना पनि नेगेटिभ आएको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिड-१९ बाट मुक्त भएँ नगरवासीहरुको सेवा र विकासमा अहोरात्र खटिएको बेलामा सचेत रहदा रहदै पनि म कोभिड – १९ बाट सक्रमित भएको कारण घरमा नै बसेर निको हुन्छु भन्ने लागेको थियो तर स्वासप्रश्वासमा समस्या आएको कारण केही समय मेडिसिटि अस्पतालमा भर्ना भएर बस्नु पर्यो। २५ दिनमा २ पटक पि सि आर परीक्षण गर्दापनि रिपोर्ट पोजेटिभ आएको कारण घरमा नै आराम गरेर बसेको थिए। आज चेक गर्दा रिपोर्ट नेगेटिभ आएको छ । बिरामी हुदादेखि मेरो स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गरी मेरो स्वास्थ्य लाभको कामना गरेर अहोरात्र सेवामा खट्ने मेरो परिवार, सम्माननीय राष्टपतिज्यूको कार्यालय, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय , माननीय उपप्रधानमन्त्रीज्यू, माननीय स्वास्थ्यमन्त्रीज्यू, प्रदेश नम्बर १ का मुख्यमन्त्रीज्यू, माननीयज्यूहरु , जनप्रतिनिधि साथीहरु, मेरा ईष्टमित्र आफन्तजन, स्वास्थ्यसंस्थाका साथीहरु, मलाई सधै माया र सद्भाव राख्ने शुभचिन्तकहरु, राजनीतिज्ञहरु, नगरपालिकाका कर्मचारी साथीहरु, अनि सम्पूर्ण नगरवासीहरु प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।’