जोन्टा क्लब काठमाडौंले धनुषाका बालिकालाई साइकल वितरण



काठमाडौं । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।

धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए । तिनीहरू स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्दछ र उनीहरूसँग स्कुल आउँन—जानका लागि साधन छैन र उनीहरू एउटा किन्न सक्ने क्षमता पनि छैन ।

जोन्टा क्लब काठमाडौंले कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई श्री जनता मा.वि., कजरा, रमौल परिसरमा आज साइकल वितरण गरेको छ । साइकल प्राप्त गर्ने विद्यालयहरुः श्री मिथिला बेसिक स्कूल—कचुरी, श्री जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र श्री जा. रा. मा. वि. स्कूल— पूरनदाहा रहेका छन् ।

यस कार्यक्रमका प्रमुख आतिथ्यता मिथिलाबिहारी नगरपालिका, तारापट्टी, धनुषाका मेयर अनिल कुमार यादवले गरेका थिए भने अन्य अतिथिहरुमा प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रलाल कर्ण, कजरा रमौलका वार्ड अध्यक्ष महादेव यादव र जनता मावि कजरा रमौलका प्रधानाध्यापक रामजीवन दाहाले गरेका थिए ।

यो पहल मार्फत, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भनिन्, “यी साइकलहरुले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्नेछ । तिनीहरूले स्कूल टाँढा भएको कारणले पठनपाठन छोड्नु पर्ने छैन । हामी सबै बालिकाहरूले शिक्षामा समान अवसर पाएको हेर्न चाहन्छौं ।”