अडियो प्रकरणले सम्मानमा पुर्याएको चोटप्रति क्षमा माग्दछाैंः रास्वपा सचेतक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठको दुई करोडको अडियो प्रकरणले आफूहरूलाई विचलित नबनाएको स्पष्टीकरण दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक परियारले श्रेष्ठको दुई करोडको अडियो प्रकरणले अन्य सांसदहरूको सम्मानमा पुगेको चोटप्रति क्षमा माग्दै आफूहरू कतै पनि विचलित नहुने बताए।
‘हाम्रो सांसदको कारणले घटेको घटनाले तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौँ। संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहनेछौँ। यो घटनाले हामीलाई कतै पनि विचलित गराउने छैन। भविष्यमा पनि संसदीय दलमा रहेका राष्ट्रियहरू पर रहनुपर्छ। लोकतन्त्रलाई सुदृढ र समृद्ध बनाउनुपर्छ। यो घटनाले संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमा प्रार्थी गर्छु,’ उनले भने।
परियारले ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई गम्भीर रूपमा लिएको बताउँदै नेपालको राजनीतिमा यो घटना नयाँ नभएकाले विगतमा भएका यस्ता घटनाको पनि सत्यतथ्य छानबिन हुनुपर्ने बताए।
‘ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई हामीले गम्भीर रूपमा लिएका छौँ। उक्त प्रकरणबारे छानबिन गर्न पार्टीको केन्द्रीयअनुशासन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छौं। नेपालको राजनीतिमा यो घटना नयाँ भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती घटनाको पनि सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझै प्रतिबद्ध हुन्छ भन्ने लाग्छ,’ उनले भने।
मेडिकल व्वयवसायी दुर्गा प्रसाईंसँग सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न दुई करोड मागेको र मन्त्री बनेपछि भनेजस्तो काम गरिदिने कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो। त्यसपछि रास्वपाले उनलाई निलम्बन गर्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइसकेको छ।