तीन आयोजनाको पिपिए दर निर्धारणका लागि सार्वजनिक सुनुवाई गर्दै विद्युत नियमन आयोग



काठमाडौं ।  विद्युत नियमन आयोगले तीन जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले २९८.७५ मेगावाटको तिला-१, २९६.७४ मेगावाटको तिला-२ र १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको पिपिए दर निर्धारण गर्न चैत ८ गते (बुधबार) सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

एस.सी पावर कम्पनी प्रा.लि ले कालिकोटको तिला गुफा, महाबु गाउँपालिका र खाडाचक्र नगरपालिकामा अघि बढाएको तिला-१ र तिला-२ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री सम्झौता दर निर्धारण गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

यस्तै, जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले डोल्पा जिल्लाको जगदुल्ला र मुड्केखोला गाउँपालिकामा  अघि बढाएको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत आयोजना पिपिए दर निर्धारण गर्न सार्वजनिक सुनुवाई आयोजना गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष यी आयाेजनाकाे पिपिए दर निर्धारणका लागि निवेदन पेश गरेको थियाे । साेही निवेदन उपर उपर छलफल गरी पिपिए दर निर्धारण गर्न लागिएकाे हाे । उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि,  तथा सरोकारवालाहरूलाई कार्यक्रमा सहभागी हुन निगमले आह्वान गरेको छ ।

सरोकारवालाहरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्नेछन । सार्वजनिक सुनुवाई ८ गते (बुधबार) सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहल हुनेछ ।