ढाकामा एउटा भवनमा विस्फोट हुँदा १४ को मृत्यु, सय बढी घाइते



ढाका – बंगलादेशको ढाकामा एउटा सात तले भवनमा भएको विस्फोटका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक सय जना घाइते भएका छन् । विस्फोटपछि घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मीहरू खटाइएको छ ।

बीबीसी हिन्दीले भने मृतकको संख्या १५ रहेको जनाएको छ । भारतीय सञ्चारमाध्य एनडीटीभीले भने विस्फोटमा १४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै एक सयभन्दा धेरै घाइते भएको बताइएको छ । ढाकाको उत्तर(दक्षिण जोड्ने सडक छुने सिद्धिकी बजारमा यस्तो घटना भएको हो ।

स्थानीय समय अनुसार मंगलबार साँझ ४ः४५ बजे विस्फोट भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि विस्फोटको कारण यकिन भइसकेको छैन । साथै घटनास्थलमा मृतकको स्ख्या बढ्नसक्ने आकलन गरिएको छ ।

केही मानिसहरू भने विस्फोटबाट भत्किएको भवनमा च्यापिएर रहेको हुनसक्ने बताइएको छ । घाइतेहरूलाई ढाकास्थित ढाका मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।