काजिअ बारको टोली मुम्बई बार एशोसिएशनको भ्रमणमा



काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले अन्तर्राष्ट्रिय बार एशोसिएशनसँगको सम्बन्ध स्थापित गर्न र अदालत भ्रमण गरी अन्तर्राष्ट्रिय न्यायालयहरुको वर्तमान स्थितिको बारेमा जानकारी हासिल गर्ने उद्देश्यले काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको एक प्रतिनिधिमण्डल मुम्बई बार एशोसिएशन तथा अदालत भ्रमणका लागि प्रस्थान गरेको छ ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका तर्फबाट फागुन १७ गते बारबाट जाने टोलीको भ्रमण सफलताको कामना गर्दै बिदाई गरियो ।

काजिअ बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. बिमल), उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारी, सचिव अधिवक्ता उज्वल राम श्रेष्ठ, सहसचिव एवं महिला समिति अध्यक्ष अधिवक्ता अञ्जु रेग्मी अर्याल तथा कार्यसमितिका सदस्यहरुले भ्रमण टोलीका सदस्यहरुलाई बिदाई गरेका छन् ।

बारका तर्फबाट कार्यसमिति कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय तथा सम्बन्ध समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीको नेतृत्वमा ६ सदस्यीय टोली फागुन १७ गते त्यसतर्फ प्रस्थान गरेको छ । भ्रमण टोलीमा कार्यसमिति सदस्य अधिवक्ता संकल्प क्षेत्री, अधिवक्ता सूर्यबहादुर दौल्याल तथा अधिवक्ता प्रमोद कुमार थापा, अधिवक्ता रविन भट्टराई र अधिवक्ता बिक्रम नगरकोटी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बार अध्यक्ष बिमलले काजिअ बारले अन्तरबारसँगको सम्बन्ध सँगसँगै अन्तर्राष्ट्रिय बार एशोसिएशन तथा न्यायालयहरुको अध्ययन भ्रमण गरी हामीले पनि लाभ लिनसक्ने अवस्था सिर्जना हुनेहुँदा आगामी दिनमा अन्य देशहरुसँग पनि सम्बन्ध स्थापित गर्न बारले अध्ययन भ्रमण गर्ने बताए ।

भ्रमण टोलीको बिदाई कार्यक्रम सञ्चालन गर्दै बार कार्यसमितिका उपाध्यक्ष अधिकारीले काजिअ बारको वर्तमान नेतृत्वले देश र अन्तर्राष्ट्रिय स्तरमा काजिअ बारको परिचय स्थापित गर्ने र एकआपसमा भाइचारा कायम गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।