सन्दीपको मुद्दा सुनुवाई सकियो, न्यायाधीश भन्छन्, ‘सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस्’

काठमाडौं — विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । केहीबेरमा आदेश आउने बताइएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै उनले यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।

न्यायाधीश खतिवडाले क्रिकेट म्यानेजर दासलाई आफूले विश्वास गर्ने बताए । कानुन उल्लंघनको विषयलाई सर्वोच्च अदालतले गम्भीर रुपमा लिनुपर्ने बताएका उनले कानुनको प्रक्रियालाई किन फरक गर्नुपर्ने भनेर प्रश्न गरे ।

‘कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु हुन्न । बरु राज्यले २÷४ करोड व्यहोर्नुपर्छ’, उनले अघि भने, ‘सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना छ, यति हुँदाहुँदै पनि प्रक्रियालाई हामीले छाड्न मिल्दैन,’ त्यसपछि उनले कानुन व्यवसायीहरुलाई खेल कहिले हुन्छ भनेर प्रश्न सोधे । कानुन व्यवसायीले मिति बताएपछि न्यायाधीश खतिवडाले छोटो बहस सुने र आदेशका लागि पर्खिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *