पौडी प्रशिक्षक कार्कीलाई सम्मानसहित बिदाई
काठमाडौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले एक कार्यक्रमका विच कार्कीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाई तथा सम्मान गरेका थिए । यस्तै कार्कीलाई पौडीपोखरीका प्रमुख एवं कार्यक्रमका सभापती टार्जन सुब्बाले अविर र राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईले माला लगाएर बिदाई गरेका थिए ।
बिदाईका क्रममा बोल्दै प्रमुख अर्जून बि.क.ले कार्कीले पौडी खेलको बिकासमा गरेको योगदानको चर्चा गर्दै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागीनै रहने बिश्वास ब्यक्त गरे ।
नायब बरिष्ठ पौडी प्रशिक्षक कार्की उमेरहदका कारण आईतबार सेवानिवृत्त भएका हुन् । कार्कीलाई नायव बरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षक द्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा बासुदेव निरौलाले माला लगाई बिदाई तथा सम्मान गरेका थिए ।
कार्यक्रमममा तालिम तथा प्रशिक्षण विभाग, खेलकुद बिज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरुले कार्कीलाई अविर तथा खादा लगाई सम्मान गरेका थिए ।
२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रुपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौं एशियाली खेलकुदमा खेलाडीका रुपमा सहभागी भएका थिए । यस्तै काठमाण्डौमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एशियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
८ औं र १३ औं दक्षिण एशियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठुलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पान गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ ।