को हुन् शिक्षा मन्त्री बनेका शिशिर खनाल ?
तनहुँमा जन्मिएका शिशिर खनालको बाल्यकाल सरकारी सेवामा रहेका बुबासँग काठमाडौं, तनहुँ, मुस्ताङ, गोरखा, चितवन, नवलपरासी, सर्लाही लगायत देशका विभिन्न ठाउँ डुल्दै बित्यो। आफ्नो एसएलसी सिद्धार्थ वनस्थलीबाट विशिष्ट श्रेणीमा पूरा गरेका शिशिर विज्ञान विषयमा अध्ययन गर्न त्रिचन्द्र कलेज भर्ना भए। स्कूले जीवनमा पढाइ सँग-सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेका शिशिर सधैं जसो आफ्नो कक्षामा उत्कृष्ट मध्येमा एक हुन्थे। अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय रहेका कारण उनले हाजिरी जवाफ, निबन्ध लेखन प्रतियोगिताहरूमा विभिन्न पुरस्कार समेत जित्ने गर्थे। कक्षा १० मा पढ्दा उनले साथीहरूको समूहको नेतृत्व गर्दै काठमाडौंमा भएको पहिलो माध्यमिक तह नेपाल भाषा हाजिरी जवाफ प्रतियोगितामा प्रथम पुरस्कार जिते।
नेपाली साहित्य र राजनीतिक इतिहासमा विशेष रुचि राख्ने शिशिर किताब पढ्न मन पराउँछन्। उच्च माध्यमिक तह पूरा गर्नु अघि नै नेपालको राष्ट्रिय दैनिक र साप्ताहिकमा अनले विभिन्न समसामयिक विषयहरूमा लेख प्रकाशित गर्न थाले। ब्रिजपोर्ट विश्वविद्यालयबाट स्नातकका गरेका शिशिरले अन्तर्राष्ट्रिय कलेज सिनेटरको रूपमा विद्यार्थी राजनीति गरी नेतृत्व गर्ने मौका पाए। उनले क्याम्पसमा सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने गरेको हिमालयन क्लबको अध्यक्षको रूपमा ३ वर्ष सहित विभिन्न विद्यार्थी क्लबहरूको सफलता पुर्वक नेतृत्व पनि गर्ने गरेका थिए ।
अमेरिकामा भएको डटकम बूम बाट प्रेरित भएर उनले नेपालका लागि e-commerce पोर्टलको रूपमा netnepali.com (नेट नेपाली) दर्ता गरे। तर आफ्नो समय भन्दा निकै अगाडि आएको यो आइडियाले सोचे अनुरुप काम गरेन। अमेरिकामै पढ्दै गर्दा उनले नेपालमा विपन्न बालबालिकाका लागि छात्रवृत्तिका अवसरहरूलाई सहयोग गर्ने उद्धेश्यका साथ क्याम्पसका साथीहरूबीच कोष जुटाउन “महिनाको एक डलर” अभियान पनि सुरु गरे।
अमेरिका बस्दा उनले कनेक्टिकट राज्य सभा (प्रदेस संसद) का सिनेटरसँग काम गरी अमेरिकी संसदीय अभ्यासहरूको बारेमा सिक्दै सिनेटरलाई नीति र निर्वाचन क्षेत्रमाका मुद्दामा सहयोग गरे। आफ्नो स्नातक सकिएपछि उनी सार्वजनिक नीति अध्ययन गर्न वियुनिभर्सिटि अफ विस्कन्सिन-म्याडिसन विश्वविद्यालयमा पूर्ण छात्रवृति सहित भर्ना भए। स्नातकोत्तर सकेपछि उनी सर्वोदय श्रमदान अभियान अन्तर्गतको सर्वोदय यु.एस.ए मा कार्यकारी निर्देशकको रुपमा काम गर्न थाले र उक्त संस्था श्रीलंकाको सबै भन्दा ठुलो सामूदायमा आधारित अभियान थियो।
सर्वोदय गान्धीबाट प्रेरित एउटा सामाजिक अभियान हो। यो सन् १९५८ एउटा विद्यालयका शिक्षकले सुरु गरेका थिए। “कार्यमा करुणा” नारासहित सुरु गरिएको उक्त अभियानले बौद्ध दर्शन र गान्धीका आदर्शलाई ठोस् कार्यदिशा दिने काम गर्छ। सर्वोदय अमेरिका मार्फत शिशिरले सुनामी ग्रसित श्रीलंकाको पुनर्स्थापना र पुनर्निर्माण परियोजनाहरूका लागि ५० लाख डलर भन्दा बढी परिचालन गरी सहयोग गरे। उनले पूर्वी श्रीलंकाका युद्धग्रस्त क्षेत्रहरू सहित देशभर यात्रा गर्दै शान्ति स्थापना कार्यमा सयौं श्रीलंकाली युवाहरूसँग काम गरे।
उनले २००८ को हाइटीको भूकम्पपछिको राहतमा पनि सहयोग गरे । उनी भूकम्प लगत्तै हाइटीमा पुगि सहयोग गरे र सर्वोदयको सफल राहत र पुनर्स्थापनाको कार्यक्रम स्थानीय समुदायलाई हस्तान्तरण गरे। यसै बीच उनले नेपालका साथीहरूसँग मिलेर सर्वोदय श्रमदान नेपाल नामक स्वयंसेवी संस्था स्थापना गरेर श्रमदान अभियान सुरु गरे जसले उनलाई नेपालका ग्रामीण समुदायहरूमा पुर्यायो। दुर्गम गाउँहरू यात्रा गर्दै गर्दा उनले नेपालका बालबालिकाहरूको गुणस्तरीय शिक्षामा पहुँचको कमी अनुभव गरे र आफ्ना केही साथीहरूसँग मिलेर सन् २०१२ मा टिच फर नेपाल सह-स्थापना गरे।
उनको नेतृत्वमा TFN नेपालको सफल र प्रभावमुखी गैर-नाफा मुलक संस्थाको रुपमा दरियो। भूकम्प र मधेस आन्दोलन जस्ता संकटका बेला पनि उनले सफलता पुर्वक राहत अभियानको नेतृत्व गरे र बालबालिकाको शिक्षालाई निरन्तरता दिने वातावरण सिर्जना गर्न गाउँ-गाउँमा जनतासँग मिलेर काम गरे। उनको नेतृत्वमा TFN ले नेपाली व्यावसाय, स्थानीय सरकार, नेपाल बाहिर र भित्रका नेपालीहरूलाई साथमा ल्याई नेपालमा नयाँ ढंगले कोष सङ्कलनको थालनी गर्यो। TFN मा रहँदा र बाहिर पनि शिशिरले सयौं नेपाली युवाहरूको शिक्षा, उद्यमशीलता र सामुदायिक विकासमा निरन्तर काम गर्न सहयोगी र प्रेरणादायी भूमिका निर्वाह गरेका छन्।
उनका कामहरूको लागि शिशिर सन् २०१८ मा Young CEO अवार्ड द्वारा सम्मानित भए। सन् २०१९ मा उनी तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकारको रूपमा काम गर्न टिच फर नेपालबाट बाहिरिए। तुलसीपुरमा रहँदा उनले विद्यालयको विस्तृत समीक्षा गरी विद्यालय एकीकरणको लागत लाभ विश्लेषण गरे। उनको नीतिगत सिफारिसका कारण नगर सरकारले आगामी १० वर्षमा करिब रु. १.८ अर्ब रुपैयाँ बचाउने छ।
त्यसपछि उनले तुलसीपुरका विद्यार्थीहरूको आधारभूत साक्षरता र संख्यात्मक स्थितिको व्यापक सर्वेक्षणको नेतृत्व गरे। उनको टिमले एक महिनाको अवधिमा सयभन्दा बढी स्थानीय युवालाई परिचालन गरी सार्वजनिक र निजी विद्यालयमा अध्ययनरत २८ हजारभन्दा बढी विद्यार्थीको सर्वेक्षण गरेको थियो। सर्वेक्षणको नतिजाले सार्वजनिक र निजी दुवै विद्यालयका विद्यार्थीहरूको प्रदर्शन निराशाजनक देखाएको छ। आज उक्त अनुसन्धान प्रतिवेदन स्थानीय सरकारको शिक्षा सुधार प्रयासको लागि आधार बनेको छ।
नेपालमा कोभिड पछि देशव्यापि लकडाउन सुरु हुँदा उनले पहिलोचोटी तुलसीपुरमा टेक्नोलोजी एक्सेस रिसर्च सुरु गरे। जसले विद्यार्थी र शिक्षकहरूका माझ सूचना प्रविधिको पहुँच बुझी अनलाइन कक्षा सञ्चालनको सम्भाव्यतामा मार्गदर्शन गर्ने काम गर्यो। प्रविधिको पहुँचको अभावमा अनलाइन शिक्षाले मात्र काम नगर्ने देखेका उनले “टोल-टोल मा सिकाई कार्यक्रम” तयार गरे। उक्त कार्यक्रमले राष्ट्रिय कोविड शिक्षा नीति निर्देशित गर्यो।
त्यस्तै उनले ग्रामीण विद्यालय र विद्यार्थीहरूलाई शिक्षामा पहुँच प्रदान गर्ने उद्धेश्यले समुदायमा आधारित स्थानीय वायरलेस समाधानहरू सुरू गर्न युवा आईटी इन्जिनियरहरूसँग काम गरे। उनले तुलसीपुरमा कोभिड हेल्थ इन्स्योरेन्सको लागि पनि आवाज उठाए जसलाई पछि शिक्षा मन्त्रालयले आफ्नो राष्ट्रिय कार्यक्रम बनायो।
स्वस्थ्य मन्त्रालयका तथ्यांकले कोविड केसहरू प्राय शहरी समुदायहरूमा सीमित भएको देखाउँदै गर्दा उनले कोभिड केसहरू नभएका वा सीमित भएका ग्रामीण भेगमा स्कूल चलाउन वकालत गरे । उनले तथ्यको आधारमा तथ्यपरक लेख लेखेर यस विषयमा संवाद सुरुवात गरे। अन्ततः ग्रामीण नेपालका लाखौं बालबालिका आफ्नो शिक्षाका लागि विद्यालय फर्किने वातावरण बन्यो। काठमाडौंमा ग्यासको अभाव हुँदा उनले कोभिड-१९ को बीच साथीहरूसँग मिलेर पिक एन्ड ड्रप नामक डेलिभरी कम्पनी सुरु गरे। पिक एन्ड ड्रप आजको दिनमा सबैभन्दा छिटो बढिरहेको लोजिस्टिक एण्ड डेलिभरी कम्पनीहरू मध्ये एक हो। यसले आज ३०० भन्दा बढी व्यवसायहरूलाई डेलिभरी र लोजिस्टिक समाधानहरू प्रदान गर्दछ भने ५० भन्दा बढी युवाहरूलाई रोजगारीको अवसर पनि प्रदान गर्दैछ।