न्यायाधीशद्वय शर्मा र मुसलमानको इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटबारे सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएकोमा महान्यायाधिवक्ताको कार्यालयले आइतबार सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको थियो ।
यसैलाई लिएर आज पनि न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुन लागेको हो ।
गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका थिए ।
