नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५-११, २५-१० र २५-१५ को जित निकालेको हो ।

यस जितसँगै आर्मीले समूह ‘बी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीले २ खेलमा ६ अंक जोडेको छ । गण्डकीको यो लगातार दोस्रो हार हो ।

च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नै बुधबार एभरेष्ट भलिबल क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को  सोझो सेटमा पराजित गरेको छ ।  एभरेष्टले नयाँ बजारलाई २५-१२, २५-१२ र २५-१४ ले हराएको हो ।

च्याम्पियनसिप अन्तर्गत आज पुरुषतर्फ ४ खेल हुँदैछ ।

पुरुषतर्फको पहिलो खेलमा न्युटन भलिबल एकेडेमी र ढोरपाटन स्पोर्टस क्लबबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपाल र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा जावलाखेल भलिबल क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।