नवलपुरमा ३० हजार बढी मत बदर



नवलपुर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी सो संख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८६ हजार ६७० मत खसेकामा ४ हजार १०३ मत बदर भएका छन् । 

प्रदेश सभातर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार ४०१ मध्ये १ हजार ७४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा १ हजार ७७७ मत बदर भएका हुन् । यो प्रदेश सभा निर्वाचन क्षेत्रमा ४५ हजार एक सय २९ मत खसेको थियो ।  

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकोमा ३ हजार ४६२ मत बदर भएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार ५९० मध्ये १ हजार ३३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १(२) मा १ हजार २१४ मत बदर भएका हुन् । 

यो प्रदेश सभा निर्वाचन क्षेत्रमा ४२ हजार ४९६ मत खसेको थियो ।  समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा ८७ हजार ४९१ मत खसेकामा ३ हजार ७८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार ६८६ मत खसेकामा ३ हजार ४२१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । 

त्यसैगरी प्रदेश सभातर्फ क्षेत्र नं १(१)मा कूल खसेको मत ४१ हजार २३१ मा ३ हजार १६४ मत बदर भएका छन् भने क्षेत्र नं १(२)मा कूल खसेको मत ४५ हजार १०४ मा ३ हजार २१९ मत बदर भएका भुसालले बताए । प्रदेश सभाको क्षेत्र नं २(१)मा कूल खसेको मत ४२ हजार ३९७ मा १ हजार ९७८ मत र क्षेत्र नं २(२)मा कूल खसेको मत ४२ हजार ६२८ मा १ हजार ७२२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिए । 

धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताए । उनले भने, ‘केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।’ 

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा २ लाख ६० हजार ४६१ मतदाता रहेका थिए । रासस