सेनाका महातरालाई तेस्रो लिस्तीकोट-दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिताको उपाधि



सिन्धुपाल्चोक । तेस्रो लिस्तीकोट-दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महातराले हात पारेका छन् ।

सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढी किल्लाको संरक्षण र त्यसको प्रचारप्रसार गर्ने उद्देश्यले भोटेकोसी गाउँपालिकाले नेपाली सेनाको समन्वयमा उक्त दौड आयोजना गरेको थियो ।

महतराले २ घण्टा ८ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् । मोहनदेव जोशीले २ घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै दोस्रो भए ।

त्यस्तै राजेन्द्र तामाङ २ घण्टा १६ मिनेट, सुमन कुलुङ २ घण्टा २० मिनेट, अर्जुन कुलुङ राई २ घण्टा २१ मिनेट र वेदबहादुर सुनुवार २ घण्टा २२ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं भएका थिए ।जिल्लास्तरीय दौडमा भने राजेन्द्र तामाङ प्रथम भए । राहुल तामाङ दोस्रो र पुर्बा सिगी लामा तेस्रो भएका थिए ।

महिला खुलामा प्रिया राईले २ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो भइन् । अनिता राई दोस्रो र सुनकला राई तेस्रो भएका थिए ।

यो वर्षदेखि थप भएको भोटेकोसी गाउँपालिकास्तरीय विद्यामा नेत्रविक्रम खडकाले ३ घण्टा ३५ मिनेटेमा निर्धारित दूरी पार गरेका थिए । उनी प्रतियोगिताका ज्येष्ठ सहभागीसमेत थिए । त्यस्तै भक्तबहादुर बुढाथोकी दोस्रो र अजय प्रधान तेस्रो भएका थिए ।

प्रतियोगितामा खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ४० हजार, पाँचौंले ३० हजार र छैठांै हुने खेलाडीले २० हजार नगद पुरस्कारसहित मेडल प्राप्त गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

महिलातर्फ प्रथम हुनेले ६० हजार, द्वितीयले ३५ र तृतीय हुनेले २० हजार प्राप्त गरेका थिए । भोटेकोसी गाउँपालिकास्तरीय प्रतियोगितामा प्रथम हुनेले २० द्वितीयले १५ र तृतीयले नगद २० हजार प्राप्त गरेका थिए ।

लार्चास्थित सुख्खा बन्दरगाहबाट सुरु भएको दौड नयाँपुल-पाङलाङ-भाल्ढुङ-लिस्तीस्कोट-गुम्बा-सिल्दुम-धारापनी-गोदाम हुँदै दुगुनागढीमा समापन गरिएको थियो । साढे २४ किलोमिटर लामो माउण्टेन ट्रेल दौडमा देशभरका २४१ खेलाडीहरु सहभागी भएको नेपाली सेनाको गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी जनक सिलवालले जानकारी दिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई नेपाली सेनाका उपत्यका पृतनापति उपरथि योगराज शर्मा, नम्बर २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोतिन्द्र महत, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पा, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक सन् १७९२ र तेस्रो पटक सन् १९८५ मा भएको युद्धको वेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपालका फौज लडाइँमा गएका थिए । लिस्तीमाईको दर्शन गरेर दुगुनागढीबाटै तिब्बतसँग लडाइँ लडेकाले दुगुनागढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ ।

ऐतिहासिक महत्वको क्षेत्र भए पनि त्यसको संरक्षण र उचित प्रचारप्रसार नभएको भन्दै नेपाली सेनाले यसअघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने घोषणा गरेको थियो ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पाले आगामी वर्षदेखि भैरवकुण्ड हुँदै दुगुनागढीसम्म प्रतियोगिता गर्ने योजना रहेको बताए ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमअन्तर्गत ऐतिहासिक गढी तथा सैनिक मार्गहरुको संरक्षण र सैनिक नागरिक सम्बन्धलाई सुदृढ बनाउन यस्ता प्रतियोगिता फलदायी हुने सेनाका उपत्यका पृतनापति उपरथी योगराज शर्माले बताए ।