स्वदेशमै रोजगारीको सिर्जनाका लागि मेरो उम्मेदवारीः विनोद चौधरी



काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन् । उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए ।

चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताए । उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहार्याए । उनले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे । चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएको बताए ।

चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे ।