

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन मन्त्रीको निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उहाँले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।
मन्त्री नेम्बाङले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए । जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ ।
सो सडक एशियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बसेका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार मन्त्रालय आएका थिए ।
छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो ।