

नेप्से परिसूचकमा सामान्य वृद्दि, जलविद्युत् समूहमा हरियाली

काठमाडाैं – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले, उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।
आज जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ । बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।
आज दुई सय २६ कम्पनीका तीन करोड ३ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डकाे शेयर सात अङ्क र चन्द्रागिरि हिल्सको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।