कोरोनाका कारण निधन भएका मानन्धरको सम्झनामा रक्तदान



काठमाडौं । लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुशीबु र चागल युवा क्लबको संयुक्त  आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

चागल युवा क्लबका सदस्य रविन मानन्धरको निधनको ४५ दिनको पुण्यतिथिका अवसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । समाजसेवी एवं क्लबका सदस्य मानन्धरको ४५ दिन अघि कोरोना संक्रमणबाट निधन भएको थियो ।

विश्वमा लाखौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसका कारण नेपालमा पनि ९ हजार भन्दा बढी मानिसको निधन भइरहेको छ । पछिल्ला केहीदिनयता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरुलाई रगतको अभाव नहोस् भन्ने अभिप्रायःले रक्तदानको कार्यक्रमको आयोजना गरिएको लायन्स क्लबका अध्यक्ष दिनेश महर्जनले बताए ।

कोरोना महामारीकै कारण आफ्नो क्लबका सदस्यले ज्यान गुमाउनु परेको दुःखद अवसरमा निजको आत्माको चीरशान्तिको कामना गर्दै रगतकै कारणले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यले मानन्धरको श्रद्धाञ्जलीस्वरुप कार्यक्रमको लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चागल युवा क्लबका अध्यक्ष अमृतरत्न डंगोलले बताए ।

उक्त अवसरमा डेपुटी डिपार्टमेन्ट चिफ लायन्स क्लबका सागर कुमार डंगोलले यस महामारीको विषम परिस्थितिमा कोरोना संक्रमित र उनीहरुको परिवारले रगत अभावका कारण भोग्नुपरेको पीडामा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले रक्तदान कार्यक्रममा सहभागी हुने सम्पूर्ण लायन्स क्लबका सदस्य, क्लबका सदस्य, समाजसेवी र स्थानीयहरुलाई धन्यवाद समेत दिएका थिए ।