

आजदेखि खुल्यो उपत्यका, सडकमा सवारी चाप बढ्यो
संक्रमितको संख्या नघटेकोले सचेत रहन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) देखि निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर–बिजोर प्रणाली हटाइएको छ ।
सबै सवारी साधनलाई खुला गरिएसँगै उपत्यकामा सवारी चाप केही बढेको देखिएको छ ।
यसअघि निजी तथा सार्वजनिक सवारीसाधनका लागि जोर विजोर प्रणाली अपनाइएको थियो ।
गएको आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना महामारी कहि मत्थर भएका कारण नागरिकको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन निषेधाज्ञा खुकुलो गरिएको हो ।
पछिल्ला दिनमा संक्रमितको तुलनात्मक रुपमा केही बढ्न थालेको पाइएकोले सरकारले सचेत हुँदै जनजीवन चलाउन सरकारले अनुरोध गरेको छ ।