

खुल्यो नेपाली आकाशः दुई महिनापछि आन्तरिक उडान सुचारु

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरपछि गरिएको निषेधाज्ञासँगै दुई महिनाभन्दा बढी समयदेखि बन्द रहँदै आएको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ ।
मन्त्रिपरिषद्को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।
संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।
संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ ।