

आज पनि देशका केही स्थानमा भारी वर्षा हुने, यी नदी आसपासका क्षेत्रहरु जोखिममा

काठमाडौं – देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर अहिले मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भएको छ।
अहिले देशभर नै सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन्। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैबीच विभागले अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म भएको जानकारी दिएको छ। त्यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ। गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ।
नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ। कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।