

विश्वकप छनोट प्रतियोगिताः ताइपेइविरुद्ध नेपालको सहज जित

काठमाडौं – फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।
ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गाेलले नै हराएको थियो ।
तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।