

स्पेनिस ला लिगाः बार्सिलोनाको शानदार जित

काठमाडौं – कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
यसै साता मात्र कोपा डेल’ रेको उपाधि जितेको बार्सिलोनाले सहज जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक–एक गोल थपे ।
बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । उता गेटाफेका इनेस उनलले एक गोल फर्काए । गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।
जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ । बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा छ ।