

स्पेनिस ला लिगा फुटबलः काडिज पराजित, रियल शीर्ष स्थानमा

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । रियलको ३२ खेलबाट ७० अंक छ ।
पराजित काडिज ३६ अंक जोडेर १३ औं स्थानमा छ । खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियलको अग्रता २-० बनाए ।
४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए । रियलले जित निकालेसँगै उपाधि होडमा थप रोमाञ्चकता आएको छ ।