

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।
नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । सिरिजको दुई खेलमा अपराजित रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ ।
आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।
तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन । नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ ।नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।
दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।