

त्रिकोणात्मक टी–२०ः कुशल र आसिफको उत्कृष्ट प्रदर्शनसँगै नेपालको शानदार जित

काठमाडौं । कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो ।
नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।
त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे ।
उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन् ।
त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १र१ विकेट लिए ।