

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा

तनहुँ – अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो ।
म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना गरेको छ ।
व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ना १ क ६२५२ नम्बको एक्साभेटरसहित ग १ त ६०९८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरिवाना गराएको छ ।
भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग १ त ४०६१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिना इजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग १ क ३७८८ नम्बरको एक्साभेटर र ग १ क ३१७५ नम्बरको जेसिभीसहित ग १ क ३२५२, ग १ क ३२५१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।