इक्यान सदस्यलाई १५ लाखसम्म ऋण दिँदै ज्योति विकास बैंक



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योती विकास बैंकबीच सहकार्य भएको छ । इक्यानका मेम्बरहरुलाई बिना धितो विशेष छुटमा प्रोफेसनल ऋण उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमबीच इक्यानका अध्यक्ष प्रकाश पाण्डे र ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीचन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । इक्यानमा आबद्ध व्यवसायीले बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने सहमतिमा उल्लेख छ । बिगतको आम्दानी तथा व्यवसायीको प्रोफाइल हेरेर बैंकले ऋण प्रदान गर्नेछ ।

विश्व व्यापी फैलिएको कोरोना महामारीका कारण शैक्षिक परामर्शदातृ व्यवसायीहरु मर्कामा परेकाले बिनाधिता तथा सहुलियतपूर्ण कर्जाले व्यवसायीलाई थोरै भएपनि राहत हुने इक्यान अध्यक्ष पाण्डेले विश्वास व्यक्त गरे । ‘व्यवसायीहरुलाई गाह्रो तथा अप्ठ्यारो भएको अवस्थामा आवश्यकता अनुसार योग्य साथीहरुलाई ऋण उपलब्ध गराउन सहज होस् भनेर सम्झौता गरेका हौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै सिइओ भट्टले इक्यानसँग सम्झौता गर्न पाउँदा खुसी लागेको बताउँदै इक्यानमा आबद्ध व्यवसायीलाई बिना झन्झट, छिटो छरितो बैंकबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।