

जीप दुर्घटनामा ३ जना घाइते,२ को अवस्था गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क–९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।