कात्तिक-२ देखि माघ-२ सम्मः यसरी बिते रविका ९० दिन !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेको आज ठ्याक्कै ३ महिना पुगेको छ । कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने आज माघ २ गते काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटी राखी रिहा भएका छन् ।

पक्राउ परेपछि कास्की लगिएका लामिछानेलाई पटकपटक गरी ८४ दिन प्रहरी हिरासतमा राखिएको थियो भने गत शुक्रबार उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी राखी रिहा गरेको थियो ।

त्यसपछि आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविलाई थुनछेकको ३ दिनको बहसबाट बुधबार काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रविले हिरासत बसाईका क्रममा कास्की र काठमाडौं बाहेक रुपन्देही, चितवन र पर्सा जिल्ला अदालतमा पनि बयान दिएका छन् ।

रविका लागि कात्तिक२ देखि माघ

– कात्तिक २: काठमाण्डूमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान

– कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति

– कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप

– कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप

– कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप

– कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान

– मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप

– मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान

– मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान

– मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप

– मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो

– मङ्सिर २५: पर्सामा बयान

– मङ्सिर २६: पर्साबाट काठमाण्डू हुँदै पोखरा लगियो

– मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप

– पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

– पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप

– पुस ७: कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

– पुस २१: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डू जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता

– पुस २५ः कास्की जिल्ला अदालतको निर्णयपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा

– पुस २८ः काठमाण्डू जिल्ला अदालतमा उपस्थित, पुनः हिरासतमा

– माघ २ः काठमाण्डू जिल्ला अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश