

राष्ट्रिय महिला लिग फुटबलमा पुलिसकाे सानदार जित

काठमाडौं – नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार पुलिसले चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा निरु थापाले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै निर्मला बिकले ह्याट्रिक गरिन् । शुनकला राई र अमृता जैशीको नाममा एक एक गोल रह्यो । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको तेस्रो मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । खेलको छैटौं मिनेटमा निरुले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाईन् ।
खेलको ११ औं मिनेटमा निरुले ह्याट्रिक पुरा गरेपछि पुलिसको अग्रता ३–० को बन्यो । खेलको २८ औं मिनेटमा निरुले पेनाल्टीबाट व्यक्तिगत चौंथो गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाईन् ।
३० औं मिनेटमा चौदण्डीकी सुजाता राईले आत्मघाती गोल गरेपछि पुलिसले ५–० को अग्रता बनायो । खेलको ३६ औं मिनेटमा निर्मलाले गोल गर्दै टिमको अग्रता ६–० को बनाईन् ।
पहिलो हाफको इन्जुरी समयमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पहिलो हाफमा ७–० को अग्रता बनायो । खेलको ६१ औं मिनेटमा शुनकलाले गोल गर्दा पुलिस ८–० ले अघि रह्यो ।
खेलको ८६ औं मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गर्दै पुलिसलाई ९–० को अग्रता दिलाईन् । त्यसपछि खेलको ९४ औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले १०-० को जित निकाल्यो ।