

सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

काठमाडौं – सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ । गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेत समेतले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
सोही मुद्दाका सन्दर्भमा चार पूर्व प्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।
यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमबारे चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिबाट न्यायालयको अवहेलना भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।