

बिहेको २४ घन्टामै पुछियो प्रमिलाको सिउँदो

काठमाडाैं । शुक्रबार मकवानपुरको कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले प्रेमी थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङसँग बिहे गरेकी थिइन् । तर, तीन वर्षकाे प्रेम सम्बन्धपछि बिहे गरेकी प्रमिला गोलेकाे सिउँदाे २४ घण्टामै पुछिएकाे छ ।
डिप्रेसनको बिरामी रहेका तिलकको बिवाहको भोलिपल्टै मृत्यु भएकाे हाे । शनिवार बिहान ४ बजेतिर तिलकका हातहरू काँप्न थाले र श्वास फेर्न गाह्रो भएकाे थियाे । केही महिनादेखि डिप्रेसनका बिरामी रहेका उनलाई सोही कारण त्यस्ताे छटपटी भएकाे हाेला भन्ने ठानेर परिवारले उनलाई अस्पताल लगेनन् ।
त्यही बेवास्ता कारण उनले शनिबार दिउँसो करिब १२ बजे तिरको प्राण त्यागे । त्याेसँगै बाँचुञ्जेल माया गरेर राख्ने कसम खाएर ल्याएका उनले प्रमिलालाई २४ घण्टामै छाडेर गए । उनकाे मृत्यु प्रेसरको कारण भएको डाक्टरले बताएका छन् ।
तिलक ३ वर्षको हुँदा उनको बुवा प्रतापसिंह थिङको मृत्यु भएकाे थियाे । उनकी आमा माइतीमाया थिङले पनि अर्को बिवाह गरेर गएकी थिइन् । आमा पनि बिहे गरेर गएपछि तिलक विगत दुई महिनादेखि नै प्रेसरको रोगी बनेका थिए ।
तिलककाे मृत्यु भएपछि प्रमिलालाई माइती लगिएको छ । उनले श्रीमान् र सासु-सुसुरा नभएपछि एक्लै बस्न गाह्राे भएकाले अब माइतै बस्ने बताएकी छिन् ।