‘Teen-age’ पार गरेको एनसेल, समाजप्रति थप उत्तरदायी बन्दै



काठमाडौं । सामान्यतयाः १३ वर्षदेखि १९ वर्षसम्मलाई ‘टीन एज’ भन्ने प्रचलन रहि आएको छ । सोही प्रचलनलाई आत्मसाथ गर्दा नेपालको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आजको दिनबाट ‘टीन एज’ पार गरेको छ ।

२ दशकअघिसम्म दूरसञ्चारमा नेपाली जनताको पहुँच र आजको दिनमा तुलनायोग्य नै छैन । त्यतिबेला नेपालमा तार फोन र मोबाइल फोन भनेको हुनेखानेले मात्र भन्ने मान्यता रहि आएको थियो । तर, नेपालमा तत्कालिन समयमा ‘मेरो मोबाइल’ एवं अहिलेको समयमा ‘एनसेल’ भित्रियो, त्यसपछि मोबाइल सेवा सर्वसाधारणको पहुँचमा पनि पुग्यो ।

सन् २००४ मा स्थापना भएको नेपालको पहिलो निजी क्षेत्रको जीएसएम सेलुलर दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २००५ देखि सेवा प्रदान गर्दै आइरहेको छ। अहिले १९ औं वर्ष पुगेको उपलक्ष्यमा एनसेलले फाउन्डेशनको घोषणा गर्दै नेपालमा  एनसेल स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा फाउन्डेसनको घोषणा गरिएको हो ।

फाउन्डेनसले ‘१९ फर १९’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहलअन्तर्गत सातै प्रदेशबाट छानिएका १९ वटा सामाजिक कार्यहरु कार्यन्वयन गरिनेछन् । र प्रत्येक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्ने जनाइएको छ ।

फाउन्डेसनका तीन उद्देश्य राखिएको छ । पहिलो, सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्तिलाई फाउन्डेसनमार्फत सहयोग गरिनेछ । दोस्रो, ‘डिजिटल डिभाइड’का निम्ति काम गरिनेछ । तेस्रो, स्वस्थ र दिगो नेपालको विकासमा योगदान गरिने एनसेलका सीईओ जाब्बोर कायुमोभले बताए ।

१९ वर्षदेखि एनसेलले सामाजिक उत्तरदायित्वका क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको उनले जानकारी गराए ।

साथै उक्त कार्यक्रममा एनसेलले हालैमात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोबर्द्धनलाई सम्मान गरेको थियो ।

१९ वर्षमा एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा २ अर्ब बढीको योगदान गरिसकेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।

अहिलेसम्म एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब बढी योगदान गरिसकेको छ, जसबाट १ करोड ३० लाख बढी नागरिक लाभान्वित भएका छन् ।

सन् २००५ मा एनसेलले बजारमा प्रवेश गर्दा जम्मा ६ प्रतिशत जनसंख्याले मात्र मोबाइल सेवा लिएका थिए। आज एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ भने मोबाइलको पहुँच ११५ प्रतिशतभन्दा बढीमा पुगेको छ। फोन कल र डाटा सेवालाई अझ सुलभ र किफायती बनाउन र कनेक्टिभिटीको माध्यमबाट आम जनसमुदायलाई सशक्त बनाउन यसले नेपालको दूरसञ्चार उद्योगलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

एनसेलले उच्च गुणस्तरिय, आधुनिक र मितव्ययी सेवाहरू प्रदान गर्दै नेपालका सबैलाई जोड्ने आफ्नो लक्ष्यमा निरन्तर काम गरिरहेको छ। २० वर्षको अवधीमा एनसेलले एनबीआई बिजनेस रेजिलिएन्स अवार्ड २०२४–बेस्ट प्रैक्टिसनर, सन् २०२२ मा नेपालमा फास्टेस्ट मोबाइल नेटवर्क, एसियन टेलिकम अवार्ड २०२२, एक्सिलेन्स इन एम्प्लोयर ब्रान्ड अवार्ड २०२२, टिएम फोरम २०२१ क्याटालिस्ट अवार्ड, वर्ल्ड  कम्युनिकेसन अवार्ड २०२१, एसियाको बेस्ट एम्प्लोयर ब्रान्ड अवार्ड २०२१, एसियन–ओसेनियाली कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसियो) अवार्ड २०२१, वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) ग्लोबल आइसिटी अवार्ड २०२१, नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२८ र २०२४, डा ऋषिराम शर्मा डिजास्टर रेस्पोन्स एन्ड रेडिनेस अवार्ड, ग्लोबल मोबाइल अवार्ड (ग्लोमो अवार्ड्स) २०१६ लगायत प्राप्त गरेको छ।

स्पेक्टरलाइट युके लिमिटेडसँगको सहकार्यमा एनसेलले नेपाली जनताका लागि नवीनता, लगानी र जीवन अभिवृद्धि गर्ने विविध सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ। डिसेम्बर १, २०२३ मा, संयुक्त अधिराज्यस्थित स्पेक्टरलाइट यूके लिमिटेडले रेनोल्ड्स होल्डिंग्स लिमिटेडको १०० प्रतिसत सेयर आजियाटा गुप्र बरहादको आजियाटा यूकेबाट अधिग्रहण गरेको थियो। रेनोल्ड्सको नाममा एनसेलको करिब ८० प्रतिशत सेयर छ।

सन् २००४ मा एनसेल ‘मेरो मोबाइल’ को रुपमा स्थापित भएको थियो। त्यसको चार वर्षपछि टेलिया कम्पनी (पहिले स्वीडेनको टेलियासोनेरा गुप्र) ले अधिग्रहण गरी सन् २०१० मा ‘एनसेल’ को रूपमा पुनः ब्रान्डिङ गरेको थियो। सन् २०१६ अप्रिल १२ मा एनसेल आजियाटा गुप्र बरहादको हिस्सा बनेको थियो। सन् २०२० अगष्ट ३ मा यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी ‘एनसेल आजियाटा लिमिटेड’ नामाकरण गरिएको थियो।

ओटीटी सेवाको वृद्धि, आईएलडी (अन्तर्राष्ट्रिय लामो दूरीको सेवा) को गिरावट र बढ्दो मागका बाबजुद कम डेटा सेवाको योगदानका कारण राजस्वमा गिरावट आएको कारणले नेपालको दूरसञ्चार बजार संकुचित बन्दै गइरहेको छ। डेटाका लागि ग्राहकको माग बढ्दै जाँदा, प्रतिस्पर्धाको कारण डेटा मूल्यहरू लगातार घटेको छ। लगानी र मुद्रास्फीतिको अनुरूप सेवा शुल्क समायोजन गर्न कुनै सरकारी प्रावधानहरू छैनन्। पछिल्लो ५ वर्षमा राजस्वमा २५ प्रतिशतले कमी आएको छ। तर, छिमेकी मुलुक बंगलादेश र श्रीलंकामा भने ४० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ।

नेपालमा प्रतिग्राहक मासिक डेटा खपत ४.५ जिबी मात्र रहेको छ भने भारतमा २० जिबी डेटा खपत हुने गरेको छ। डिजिटल साक्षरता कम छ, र डीभीएएस (डिजिटल मूल्य–वर्धित सेवाहरू) को सञ्चालनमा प्रतिबन्धहरू छन्। कुल गार्हस्थ्य उत्पादनमा दूरसञ्चार क्षेत्रको योगदान ५ प्रतिशतबाट घटेर २ प्रतिशतमा झरेको छ भने १ खर्बको बजार ७५ अर्ब रुपैयाँभन्दा तल झरेको छ। पुँजीगत खर्च करपछिको नाफाको झन्डै तीन गुणा बढी हुन्छ, यसको अर्थ एनसेलजस्ता कम्पनीले हालको नाफाको खर्चमा भविष्यको वृद्धिमा लगानी गरिरहेका छन्। घट्दो राजस्व र नाफाका कारण नेपालमा मोबाइल उद्योगले आफ्नो नेटवर्क कायम राख्नका लागि आफ्नो नाफाको २–३ गुणा बढी लगानी गर्छ। फाइभजीजस्ता नयाँ प्रविधि भित्र्याउन नेपाललाई करिब ६० अर्ब रुपैयाँ आवश्यक पर्छ, जुन हालको नाफाभन्दा १२ गुणा बढी हो।

आगामी २–३ वर्षमा यो लक्ष्य हासिल गर्नु वर्तमान आर्थिक अवस्थालाई दृष्टिगत गरी चुनौतीपूर्ण छ। सरकारले आगामी १० वर्षमा ३० खर्ब रुपैयाँबराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने र १५ लाख आईटी कामदार उत्पादन गर्ने लक्ष्य राखेको छ। तथापि, टेलिकम क्षेत्रको समर्थन र वृद्धि बिना, एक प्रमुख आईसीटी इकोसिस्टम प्लेयर, यो लक्ष्य प्राप्ती गाह्रो छ। नेपालको सानो बजार र उच्च स्पेक्ट्रम लिलामी शुल्कले अत्यावश्यक दूरसञ्चार सेवालाई महंगो बनाएको छ। सन् १९९७ को दूरसञ्चार ऐन लागू भएयता यसलाई संशोधन गरिएको छैन। दूरसञ्चार कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशतभन्दा बढी कर र शुल्कको रूपमा योगदान गर्छन्, जसले नेपाललाई सबैभन्दा बढी कर तिर्ने दूरसञ्चार बजारहरूमध्ये एक बनाउँदछ।

कम्पनीहरूले जीएसएम लाइसेन्स नवीकरण शुल्कको रूपमा प्रारम्भिक १० वर्षपछि प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसले गर्दा यस क्षेत्रको दिगोपनमा चिन्ता उत्पन्न भएको छ। टेलियासोनेरा र आजियाटा जस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताले प्रतिकूल र अप्रत्याशित परिस्थितिका कारण दीर्घकालीन व्यवहार्यता कायम गर्न चुनौतीको सामना गर्नुपरेको छ। दूरसञ्चार बजारमा आएको गिरावटको मुख्य कारण बारम्बार नियामक परिवर्तन र स्मार्टफोन तथा ओटीटी सेवाहरूको तीव्र अपनत्व हो। विगत ६ वर्षमा नियामकीय घटनाहरूले राजस्वमा १३ अर्ब रुपैयाँको प्रभाव पारेको छ।