

मोटरसाइकलसहित रम्मा खोलामा बगे निर्मला र सर्जन

रुकुम । रुकुम पश्चिमको रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेका छन् ।
रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन्। उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो ।
सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।