

उपरथी कार्कीसहितलाई दर्ज्यानी चिह्न

काठमाडौं – कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका मधुकरसिंह कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
कायम मुकायम प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पदोन्नतिसँगै उपरथी कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजकमा नियुक्त गरिएको छ । सोही अवसरमा सहायक रथीमा बढुवा भएका प्राविधिक डेन्टिष्ट डा समीर अर्याल, जगदीश खड्का र अमृतकाजी गुरुङलाई पनि दर्ज्यानी चिह्न प्रदान गरियो ।
त्यस्तै महासेनानीमा पदोन्नति भएका शैलेन्द्र कोइरालालाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न लगाइयो ।
सिरियल नम्बर ६१ को अधिकृत आधार तालिममा छनोट भई भारतबाट अधिकृत आधारभूत तालिम पूरा गर्ने चार जना अधिकृत क्याडेटलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।