

आज साउने संक्रान्ति

काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।
साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ ।