सिमलटार दुर्घटनाः वाटर ड्रोन र सोनार क्यामेराको प्रयोग गरि खोजिँदै



काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार विहान त्रिशूली नदीमा खसेका दुई बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।

ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी त्रिशूलीमा बेपत्ता बस र यात्रुको बिहानैदेखि खोजी थालिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनले यात्रुसहित बेपत्ता बसको खोजीमा नौं गोताखोरसहित ६० सशस्त्र प्रहरी खटिएको जानकारी दिए । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन् ।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ । उक्त दुर्घटनामा परेका तीन यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन् ।