जो सिमलताल पहिरोमा परि बेपत्ता भए… (नामसहित)



गौर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्सका यात्रुहरुको नाम खुलेको छ ।

गणपति डिलक्समा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । बसमा यात्रा गर्नेमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँ रहेका छन् भने नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र  लगायतको नामबाट सिट बुक भएको छ ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ ।

त्यस्तै वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा गाडी धनी राजेन्द्र केसी, चालक नगवाका जवाहिर महतो र सहचालक चौधरी थरका एक रहेको खुलेको छ ।

त्यस्तै यात्रुहरुमा अन्सारीजी, अरविन्द दुवे, सन्तोष (मकालु सैलुन), सुरेन्द्र साह (फलफूल), आवीन्दजी, हरिन्द्र पण्डित, सुनिल, शेहनबाज आलम, प्रकाश (पिप्रा), प्रमानन्द, हृदय नारायण राउतसहित ३ जना, सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (उपचारका लागि हिँडेका), रैजुल आलमसहित २ जना रहेको खुलेको छ ।

त्यस्तै मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।

काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।