आजकाे माैसमः धेरै स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । केही प्रदेशमा सोमबार भारी र अति वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ।
आगामी चार दिन देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना छ।
भारी र अति वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम रहेको महाशाखाले जनाएको छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ।