

सशस्त्रका असई विकको हत्या आरोपमा पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।
फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको हो ।
पूर्वप्रदेश सांसद यादवलाई असई विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए ।
उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं.४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।
महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो ।