

नाबालिका करणीको आरोपमा प्रहरी जवान बोट पक्राउ

हेटौंडा । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको हो ।
प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।
जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।
पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।