

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणः एक जना पक्राउ, आत्महत्या दुरुत्साहन चलाइँदै

जनकपुरधाम । सिराहामा प्रहरी जवानको मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् ।
गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिको अवस्थामा मृत फेला परेकी थिइन् ।
बाँके खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।