भागरथीकी आमा द्रोपतीलाई कांग्रेसले दियो २ लाख सहयोग



बैतडी । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आइतबार घटनाको बारेमा स्थलगत अवलोकन गरेका छन् ।

लेखकले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन् । पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका छन् । भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए ।

उक्त अवसरमा कांग्रेसले मृतकका आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् । नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेभएका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए । डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी पत्ता लाग्ने बताए ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् । हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ । भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।