

प्रधानमन्त्री कप क्रिकेटः आर्मी च्याम्पियन, सशस्त्र उपविजेता

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो ।
आर्मीले आजको खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गरेका थिए । भारीले १३ तथा मण्डलले ११ रन बनाए। आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सात, हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिए ।
बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका थिए ।
एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गरे ।