

आबुधाबी टी–१०ः नेपाली खेलाडी आबद्ध दुवै टिम विजयी

काठमाडौं – युएईमा जारी आबुधावी टी–१० प्रतियोगिताको बिहीबारका खेलमा नेपाली खेलाडी सहभागी दुवै टिमले जित हात पारेका छन् ।
बिहीबार सम्पन्न पहिलो खेलमा नेपाली खेलाडी सोमपाल कामी आबद्ध रहेको टिम मारथा अरबियन्सले नर्देन वारियर्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ ।
सोमपाल आबद्ध टिमले १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम बलमा १ सय ३१ रन बनाउँदै जित हात पारेको थियो । उक्त खेलमा सोमपाल कामीले २ ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए । कामीको एउटा विकेट हातबाट छुटेको थियो । उक्त खेलमा सोमपालले एक जना ब्याट्स्म्यानको क्याच लिएका थिए ।
त्यस्तै पछिल्लो अर्को खेलमा नेपाली खेलाडी करण केसी आबद्ध पुने डेभिल्सले पनि ७ विकेटको जित हात पारेको छ । डेक्कन ग्लाडियर्सले दिएको १ सय ४ रनको लक्ष्य करण केसी आबद्ध टिम पुने डेभिल्सले ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।
उक्त खेलमा करणले १ ओभर बलिङ गरेका थिए । करण उक्त ओभरमा केही महंगो सावित भएका थिए । उनको उक्त ओभरमा डेक्कनका ब्याट्सम्यानले १७ रन बनाएका थिए ।