भरतपुर महानगरले दियो गौतमबुद्ध क्रिकेट रंगशालालाई थप चार करोड



चितवन । भरतपुर महानगरपालिकाले भरतपुर २० मा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले २ पटक गरी फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।

बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड रुपैयाँ दिइएको बताइन् ।

महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पु¥याइने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताए ।