

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो ।
नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।
एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।