नरेन र अभिषेकको उत्कृष्ट क्रिकेटसँगै मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक



काठमाडौं । कप्तान अभिषेक तिवारी र नरेन भट्ट चम्किएपछि नेपालले लगातार तेस्रो उपाधि हात पारेको छ ।

एसीसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनलमा उपाधिका लागि मलेशियासँग भिडेको नेपालले विशाल जित हात पारेको हो । मलेसियाले १४.४ ओभरमा ३१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको विस्फोटक पारि खेल्दै मलेशियालाई विशाल लक्ष्य प्रस्तुत गरे ।

त्यसपछि २५३ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको मलेशियाका ब्याट्सम्यानलाई नेपाली कप्तान तिवारीले धरासायी पारे ।

मलेशियाका मोहम्मद मकरीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् । मलेशियाका ५जना ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालका लागि कप्तान तिवारीले ६ ओभरमा ७ रन दिएर ५ विकेट हात पारे । त्यस्नै नेपालका लागि सन्तोष यादवले ३ विकेट लिएका थिए । त्यस्तै अशोक धामी र सागर गैरेले १/१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेनको ११२ रनको मद्दतसहित २५२ रन बनाएको थियो । नरेनले ८२ बलमा शतक पूरा गरेका थिए ।

नेपालले उक्त रन ३५ ओभरमा ७ विकेट गुमाउँदै बनाएको हो ।

ओपनर सुर्यांशु कोईराला २३ बलमा १८ रनमा आउट भएका थिए । त्यस्तै नेपालका लागि निरजकुमार यादवले रन बनाए भने सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन बनाए । त्यसबाहेक नेपालका दिपु मगर ५, प्रतीक भट्टराई १, अभिषेक तिवारीले ४ र आशिष लुहारले २ रन बनाए ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका थिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।