शंख, डम्फु, धिमे, च्याब्रुङसहित नागरिक आन्दोलन सडकमा



काठमाडाैं । नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनका विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । संयोजक युग पाठकद्वारा जारी विज्ञप्तिअनुसार नागरिक आन्दोलनले पुस ९ गतेदेखि आन्दोलन घोषणा गरेको थियो ।

विज्ञप्तिमा संविधानले चिन्दै नचिन्ने एक ‘आदेश’को भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र त्यसमा राष्ट्रपतिको अविवेकी लाहाछाप लागेको घटनाले आम जनसाधरणको मनमा पारेको गहिरो चोट र संशयलाई मध्यनजर गर्दै वृहत् नागरिक आन्दोलनले गत पौष ९ गते एक विज्ञप्तीमार्फत उक्त ‘आदेश’को भत्सर्ना गरिसकेको छ । यो सामान्य राजनीतिक दाउपेच मात्र होइन भन्ने प्रष्ट हुनेगरी प्रतिगमनको रोडम्याप सार्वजनिक चर्चामा आइसकेको, उल्लेख गरिएको छ ।

साथै, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रतिगमनको प्रवाहले दशक पार गर्न लाग्दा कुनै न कुनै राजनीतिक संकट पैदा हुने अनुमान हामी सबैलाई थियो । त्यसै अनुरुप प्रतिरोधको मानसिकतामा हामीले लेख्ने–बोल्ने गरिरहेकै पनि हो । तैपनि प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता सर्वत्र देखिन्छ । त्यसैले प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु हामी सबै नागरिकको कर्तव्य हुन आएको छ ।’

घोषित संघर्षका कार्यक्रमअन्तर्गत पौष ११ गते शनिबार शंख एपिसोडसहित कोणसभा गरिएको थियो भने  पौष १३ गते सोमबारः डम्फु एपिसोडसहित कोणसभा,  पौष १५ गते बुधबारः धिमे एपिसोडसहित कोणसभा, पौष १७ गते शुक्रबारः च्याब्रुङ एपिसोडसहित कोणसभा, पौष १८ गते शनिबारः सडक नाटकसहित वृहत् नागरिक सभा गरिने छ । हरेक दिन दिउँसो २ बजे माइतीघरमा सुरु हुने उक्त संघर्षको कार्यक्रममा संघर्षका सबै कार्यक्रममा कविता, संगीत लगायतका कलात्मक प्रस्तुति हुने जनाइएको छ ।